जनकपुरधाम । भारतले नेपालसहित अन्य आधा दर्जन छिमेकी देशहरूलाई आजबाट कोरोना भाइरस बिरुद्धको खोप उपलब्ध गराउन लागेको छ ।
भारतको विदेश मन्त्रालयले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै नेपाल सहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप वितरण गर्न लागेको जानकारी दिएको थियो ।
भारतले कुन देशलाई कति परिमाणमा खोप उपलब्ध गराउन लागेको छ त्यस सम्बन्धमा भने विदेश मन्त्रालयले केहि खुलाएको छैन्।
यसअघि भारतीय विदेश मन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो ।
अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी दिनमा खोप उपलब्ध गराउने उल्लेख गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण गर्न लागिएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।
यसैबिच,भारतले उपलब्ध गराउन लागेको कोरोना बिरुद्धको खोपबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । आज दिउँसो स्वास्थ्यमन्त्री र भारतीय राजदूतले संयुक्त पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
प्रतिक्रिया