ताजा समाचार


हाम्रो लडाई अहिले पनि जारी नै छ : मन्त्री सोनल

द रियल समाचार     २०७७ माघ ६, मंगलवार, ०१: २५ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आफुहरुको लडाई अहिले समाप्त नभएकोले मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको सम्मान स्वरुप प्रदेश २ सरकारले सोमबार जनकपुरधाममा मनाएको बलिदानी दिवस कार्यक्रममा बोल्दै मन्त्री सोनलले मधेशी जनताको पहिचानमा आधारित संघियता, समावेशिता, सम्मानजनक सहभागिता, भाषा, धर्म, सभ्यता र संस्कृतिको ग्यारेन्टी अहिले पनि अधुरो रहेको धारणा राखे ।

उनले भने,’सैकडौं शहिदको बलिदानीबाट केन्द्रिय राज्यसत्तासँग लडाई गरेर ल्याएको संघियतालाई स्थापित गर्नुपर्ने नितान्त आवश्यकता छ ।’

मन्त्री सोनलले २०७४ फागुन ३ गते प्रदेश सरकार गठन भएपश्चात पहिलो बैठकबाटै एक शहिद परिवार एक रोजगारको ग्यारेन्टी गर्ने प्रतिबद्धतालाई समेत स्मरण गरे । उनले भने,’एक शहिद परिवार एक रोजगारको ग्यारेन्टी गर्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेपनि त्यसमा धेरै कठिनाइको सामना गर्नु परिरहेको छ ।’

मन्त्री सोनलले रोजगार पाएका शहिद परिवारलाई स्थायित्व प्रदान गर्ने र बाँकीलाई चाँडै व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले २०६३ मंसिर ७, ८ र ९ गते तत्कालिन मधेशी जनअधिकार फोरमको जनकपुरमै बसेको बैठकबाट मधेशी जनतालाई आफ्नो ताकत प्रदर्शन गर्नका लागि माघ २ गते मधेश बन्द गरि शक्ति प्रदर्शन गर्ने निर्णय जनकपुरमै भएको र २०६४ मा पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरि भिषण आन्दोलनको शुरुवात जनकपुरबाटै भएकोले जनकपुर मधेश आन्दोलनको केन्द्रविन्दु रहेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top