जनकपुरधाम । धनुषाको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु आज (सोमबार) देखि रिले अनसनमा बसेका छन् ।
कलेज व्यवस्थापन र आन्दोलनरत्त कर्मचारीबीच भएको सहमति कार्यान्वयन नगरि श्रम शोषण गरेको भन्दै शिक्षण अस्पतालका कर्मचारीद्धय जानकी शरण यादव र कुलदिप साहले पूर्वघोषित कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि पुनः रिले अनसन सुरु गरेका हुन् ।
यसअघि पनि उनीहरु कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकेल्टिहरु बीच तलब भत्ता, सञ्चयकोष, दशैं भत्ता लगायतका बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढिकरणका लागि विभिन्न मितिमा भएका सम्झौता र प्रतिबद्धताहरु कार्यान्वयन गर्न कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनसनमा बसेका थिए ।
पछिल्लो पटक २८ दिनसम्म आमरण अनसनमा बसेका कर्मचारीद्वय यादव र साहले ३ बुँदे सहमति पश्चात गत मंसिर १३ गते अनसन तोडेका थिए । तर, सो त्रिपक्षीय सहमति आजको मितिसम्म पनि संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकोले बाध्य भएर आफुहरुले आजदेखि फेरि दोश्रो पटक रिले अनसन सुरु गरेको उनीहरुले बताए ।
यसअघि पनि मंसिर १७ गते भित्र कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २÷२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मिलित कार्यदल गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो । कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प गरेका थिए ।
उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै एक महिनासम्म धर्ना समेत दिएका थिए । उनीहरुले भदौ १५ गते कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी समेत गरेको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश जानकारी दिए ।
प्रतिक्रिया