ताजा समाचार


यूवाहरुको समुहले जनकपुरमा छुट्टै कार्यक्रम आयोजना गरि बलिदान दिवस मनाए

द रियल समाचार     २०७७ माघ ५, सोमबार, १८: ४८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले बलिदान दिवसको अवसरमा जनकपुरधाममा कार्यक्रम गरिरहदाँ मधेश आन्दोलनका विगुल फुकेका विद्रोही यूवाहरुको एक समुहले छुट्टै कार्यक्रम आयोजना गरि बलिदान दिवस मनाएका छन् ।

सोमबार जनकपुरधामको जनकचोकमा मधेश जनविद्रोह २०६३ को आयोजनामा भएको १५ औं बलिदान दिवसको अवसरमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालका सत्तासिन मुख्यमन्त्री लालबाबु राउत, विभिन्न मन्त्री देखि जसपाका मुख्य नेताहरुको समेत कडा आलोचना ती यूवाहरुले गरेका छन् ।

अधिकार र पहिचानका लागि मधेश आन्दोलनको अगुवाई गर्ने ओझेलमा परेका यूवाहरुले प्रदेश सरकार जनताको नभई व्यत्तिवादी, नातावादी, कृपावादी र दलाल व्यवसायी भएको आरोप लगाए । उनीहरुले प्रदेश सरकारले अझै पनि अन्तिम आन्दोलन बाँकी नै रहेको भन्नु सत्तामा पुग्नका लागि जनतालाई अलमलमा राख्नका लागि भ्रम छर्ने कार्यमा लागिपरेका आरोप समेत लगाए । मधेश अधिकार संघर्ष समिति मासका संयोजक सरोज कुमार मिश्रले सत्ता र सरकारमा जानका लागि मरिहत्ते गरि जनताको छोराछोरीलाई मधेशको अधिकारको नाम भजाएर आन्दोलनको उपलब्धीलाई नै बेचेको आरोप लगाए ।


उनले मधेश आन्दोलनमा खासै योगदान नै नरहेकाहरु मन्त्री बनेर बलि दिएकाहरुसंग मात्र नभई मधेश आन्दोलन र सोको उपलब्धीहरुलाई बचाउन कुनै पनि किसिमको कार्य नगरेको प्रति असन्तुष्टि जनाए । उनले जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले समेत पद र जनताको मानमर्दन हुने गरी भ्रष्टाचार लगायतका कार्य गरेको भन्दै आक्रोश पोखे ।

त्यस्तै मासका अर्का नेता सुशिल कर्णले शहिद, जनता र धार्मिक आस्थामाथि खेलवाड गर्ने प्रदेश सरकारले आफ्नो व्यवसाय चलाएको आरोप लगाए । उनले प्रदेशको विकासको नाममा अहिले प्रदेश सरकारले धार्मिक अतिक्रमण गर्ने कार्यमा लागि परेको भन्दै उनले मधेश आन्दोलनको एजेण्डा र सरकारको कार्यको समिक्षा गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

तत्कालिन मधेश जनअधिकार फोरम नेपाल धनुषाका अध्यक्ष दिनेश पूर्वेले प्रदेश २ सरकारमा आसन रहेका मन्त्रीहरुले जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाए । उनले मधेश अधिकारका लागि बलिदानी दिएका परिवार र मधेश आन्दोलनकारीहरुमाथि जसपा र प्रदेश सरकारले विभेद गरेको बताए । जसपाका नेता समेत रहेका अरुण मिश्र मधेशीले प्रदेश सरकारले आफ्ना नातागोता, जातिवाद र घुस दिनेलाई मात्रै विभिन्न किसिमका राजनीतिक नियूक्त दिने गरेको आरोप लगाए ।

त्यसैगरी मधेशवादी नेता दिपक कुमार झाले मधेश आन्दोलनको बेला आन्दोलनको बिरोधमा कुरा गर्नेहरु नै अहिले सरकारमा रहेको भन्दै उनले भने – उनीहरु पंचायत सरकारको समयमा राजाको पक्षमा बोल्नेहरु नै अहिले ठूलो गणतन्त्रवादी र संघियताका पक्षधर बनेका छन्, यही सब देखेर अहिले राजनीतिमा त्यती सक्रिय छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top