ताजा समाचार


शहिद परिवारलाई मासिक भरणपोषण भत्ताको व्यवस्था गर्न नेता महतोको सुझाव

द रियल समाचार     २०७७ माघ ५, सोमबार, १८: ३८ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनताका शहादत प्राप्त गरेका मधेशी शहिदहरुको परिवारलाई दिने भनिएको ५० लाख रुपैयाँ पूर्ती हुनेगरि काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको सम्मान स्वरुप प्रदेश २ सरकारले आज (सोमबार) जनकपुरधाममा मनाएको बलिदानी दिवस कार्यक्रममा बोल्दै नेता महतोले भने,‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शहिद परिवारका लागि ५० लाख घोषणा गर्नुको मनशाय नै उनीहरुको भरणपोषण र शिक्षादिक्षाका लागि व्यवस्थापन गर्नु थियो ।’


नेता महतोले प्रदेश सरकारलाई शहिद परिवारका लागि मासिक भरणपोषण भत्ताको व्यवस्था गर्न सुझाव समेत दिएका छन् । उनले भने,‘सातवटा पार्टी मिलेर गठन गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनआन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको परिवारलाई आन्दोलनको सफलता पश्चात मधेशवादीको नेतृत्वमा बन्ने सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने वचनबद्धता जनाएको थियो । त्यसैले त्यो ५० लाख रुपैयाँ पूर्ती हुनेगरि काम गर्नुपर्ने आवश्यकता छ ।’

देश र मधेश तथा जनताको अधिकार र पहिचानका लागि जसले कुर्वानी दिए त्यस परिवारलाई लावारिश नछाड्न आग्रह गर्दै उनले शहिदहरुकै बलबुताबाट देश संघियतामा गएपछि अहिले हामीले आफ्नो सरकार पाएको बताए । उनले भने,‘शहिदहरुको बलिदानीलाई प्रदेश सरकारले बिर्सनु हुँदैन् । जनताको सामुन्ने शहिद परिवारलाई हामीले बचन दिएका थियौं, त्यसैले त्यो काम कुनैपनि हालतमा पुरा गर्नुपर्दछ । जनताले त सरकार बनाईदिए, अब प्रदेश सरकारको प्राथमिक दायित्व शहिद परिवारको भरणपोषण र बालबच्चाको शिक्षा दिक्षाको सम्पूर्ण जिम्मा लिनुपर्ने हुन्छ ।’


नेता महतोले शहिद परिवारलाई रोजगारी दिनका लागि लोकसेवा मार्फत आरक्षण कोटा छुट्याउन प्रदेश सरकारसँग आग्रह गर्दे ८ वटा जिल्लामा ८ ठाउँमा शहिदका लागि शहिदपार्क बनाउन उनले सुझाव समेत दिए । देशमा काँग्रेस र कम्युनिष्ट रिजेक्टेड सामान जस्तै भईसकेको जिकिर गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिको रुपमा जसपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाउन मधेशी जनता र मधेशी नेतालाई सहयोग गर्न आग्रह गरेका छन् ।

अर्को प्रसङ्गमा बोल्दै नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संघियतालाई बेजान बनाएर राखेको आरोप लगाए । उनले भने,‘यो संघियता बिना अधिकार र बिना पहिचानको संघियता छ । र यसको मुख्य दोषी ओली हुन् । मधेश आन्दोलन र जनआन्दोलनको बलमा देशमा संघियता आएपनि अहिले त्यस माथि नै प्रहार भईरहेको छ । त्यसैले यसलाई बचाउनुपर्दछ ।’ नेता महतोले प्रदेश सरकारलाई केन्द्र सरकारले एउटा झण्डा र एउटा डण्टा थमाएर पंगु बनाएको जिकिर समेत गरे ।


कार्यक्रममा जसपाका नेता अनिलकुमार झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका शहीद एवं अगुवाहरुलाई स्मरण गर्दै शहीदहरुको बलिदानीलाई आफुहरुले कहिल्यै बिर्सन नसक्ने बताए । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २ का अधिकांश शहीद परिवारले रा्ेजगारी पाइसकेको र विभिन्न कारणले बाँकी रहन गएको परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा सरकार रहेको बताए । उनले शहीद परिवार एवं घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकार मधेशी शहीद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पछि दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने् दाबी समेत गरे ।


मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको आमा रानो देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायसहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।


कार्यक्रममा प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा प्रदेश २ मा शहादत प्राप्त गरेका ६० जना शहीद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर नगद २५ हजार सहित सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top