जनकपुरधाम । संसद विघटनबिरुद्ध नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहमा समेत नेपाली काँग्रेसले आज मोटरसाइकल र्याली निकालेको हो ।
जनकपुरधाम उपमहानगरपालिकामा पनि नेपाली काँग्रेस जनकपुरधाम नगरकार्यसमितिले हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालेको छ । स्थानीय गोपाल धर्मशालाबाट निस्केको मोटरसाइकल र्याली रामचोक, सोनारपट्टी, जानकीचोक, भानुचोक, मिल्स एरिया, बेङ्गा, बाबा पेट्रोल पम्प, पिडारीचोक, रामानन्दचोक, कुर्था, बसबिट्टी, बिन्धी, जिरोमाइल, मुरलीचोक, कदमचोक, कपिलेश्वर, महुवा, कनकपट्टी, तेतरिया बजार, पुलचोक, सिताचोक, शुभचोक, धनुषा पथ हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको नेपाली काँग्रेसको ठहर छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका कार्यकर्ता र समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका थिए ।
यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ भने माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
प्रतिक्रिया