ताजा समाचार


जिल्ला नेताले उपेन्द्र यादवलाई दिए पार्टीबाटै भगाउने चेतावनी

द रियल समाचार     २०७७ माघ २, शुक्रबार, १६: २१ मा प्रकाशित




जनकपुरधाम । वरियताको विषयमा विवाद भएपछि जनता समाजवादी पार्टी सिरहामा भाँडभैलो मचेको छ । सिरहामा जनता समाजवादी पार्टीको हुन लागेको आमसभाका लागि जारी गरिएको वरियतामा चित्त नबुझेपछि जसपाकै नेता कार्यकर्ताहरुमा असन्तुष्टि चुलिएको हो ।

जसपा सिरहाका एक जिल्ला नेताले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर चेतावनीपूर्ण स्वरमा असन्तुष्टि पोखेका हुन् । सिरहाका सो जिल्ला नेता र पार्टी अध्यक्ष यादव बिच भएको सो फोन कल अहिले सामाजिक सञ्जालमा समेत भाइरल भईरहेको छ ।
जिल्लाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित तत्कालिन राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोरलाई प्रोटोकोलमा तल पारेपछि जिल्ला नेता राजाराम यादवले अध्यक्ष यादवलाई फोन गरेर कालो झण्डा देखाउने चेतावनी दिएका हुन् ।

फोन कलमा अध्यक्ष यादव जिल्ला नेतासंग नराम्ररी प्रस्तुत भएपछि उनले वरियता मिलाउनु भएन भने कालो झन्डा देखाँउछौं, कार्यक्रम बहिष्कार गर्छौँ भन्दै आक्रोश पोखेका छन् । जनता समाजवादी पार्टीले आफ्नो निर्धारित कार्यक्रम अनुसार माघ ३ गते शनिबार सिरहामा विरोध कार्यक्रम गर्न लागेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको स्थानीय नेता कार्यकर्ताहरुको आरोप छ । पार्टी वरियता क्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई उनकै गृह जिल्ला सिरहाको कार्यक्रममा समेत तल पारिएपछि विवाद उत्पन्न भएको हो । जबकी राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, प्रकाश अधिकारी र विजय यादव भन्दा माथि छन् ।

सिरहामा हुन लागेको सो बिरोधसभामा पहिलो वरियतामा रेणु यादवलाई राखिएको छ भने दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको हो । त्यसपछि मात्रै चौथो नम्बरमा नेता राजकिशोर यादवलाई राखिएको हो । माथी वरियतामा राखिएका तीनै जना अध्यक्ष उपेन्द्र ययादव पक्षधर हुन् । फोनकलमा सिरहा जसपाका नेता वरियता क्रम मिचेर मधेश आन्दोलनको मर्म र असली कार्यकर्तालाई अपमानित गर्न खोजिएको आरोप लगाएका छन् ।

टेलिफोन सम्वादमा अध्यक्ष यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी हुन भनेका छन् भने पार्टी छोडेर भाग्न कडा चेतावनी पुर्ण भाषा प्रयोग गरेको सुनिन्छ । उपेन्द्र यादवको यस्तो अभिव्यक्ति पछि राजाराम यादवले पनि उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिइरहेका छन् । उनले भनेका छन्,‘तपाई अध्यक्ष हो भने के भयो, यो तपाईको मात्रै पार्टी होइन, तपाईलाई नै पार्टीबाट भगाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top