जनकपुरधाम । जनकपुरधामस्थित वडा नम्बर–७ मा निर्माण हुन लागेको सन्त निवासको बिहीबार शिलान्यास गरिएको छ । छैठौं राष्ट्रिय योग दिवसको अवसर पारेर वडा नम्बर–७ मा रहेको योग शिविरको छेउमै सन्त निवासको शिलान्यास गरिएको हो ।
सन्तहरुलाई आवास सुविधा दिने उद्देश्यले प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको सो निवासको निर्माण कार्यको शिलान्यास प्रदेशसभा सदस्य परमेश्वर साहले गरेका हुन् । जनकपुरधाम आउने सन्तहरुलाई आवासका लागि भौतारिन नपरोस भन्ने उद्देश्यका साथ निर्माण हुन लागेको सो निवासबाट टेवा पुग्ने प्रदेशसभा सदस्य साहले बताए ।
सन्त निवासको निर्माण प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपैयाँको लागतमा पूरा हुने वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए । उनले यसका साथै योगमा आवश्यक पर्ने पञ्चकर्म तथा सत्कर्मको ज्ञान दिने प्रयोजनका लागि समेत प्रयोग गरिने बताए ।
सोही कार्यक्रममा वडाध्यक्ष साहले आफ्नो वडाका महिलाहरुलाई कम्बल समेत वितरण गरेका थिए ।
प्रतिक्रिया