ताजा समाचार


आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

द रियल समाचार     २०७७ माघ १, बिहीबार, १०: ०२ मा प्रकाशित




जनकपुरधाम । माघ महिनाको पहिलो दिन मनाइने मकर सङ्क्रान्ति पर्व आज  जनकपुरधाम लगायत देशभर मनाइँदै छ ।

यो पर्व स्नान, जप, तप, ध्यान, साधना, दान आदी गरी मनाइन्छ । आज बिहानैदेखि जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीहरुमा स्नान गर्न भक्तजनहरुको घुइचो लागेको छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।

यसैबिच, सरकारले आज माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश २ सहित देशभर सार्वजनिक विदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को पुस २६ को निर्णय अनुसार माघ १ गते अर्थात आज मुलुकभर लागू हुने गरी सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

सरकारले आज नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top