जनकपुरधाम । शहिद पत्रकार उमा सिंहको सोमबार १२ औं स्मृति दिवस मनाइएको छ । पत्रकार सिंहको स्मृति दिवस जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको छ । पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा दिनदिनै चूनिती र जोखिमहरु बढ्दै गईरहेको बताए ।
उनले यस्ता जोखिमहरु बढ्दै गएपनि यसबाट पत्रकारले डराउन नहुने सुझाव समेत दिए । उनले भने,‘पत्रकारिता पेशा नै चूनौतिको पेशा हो । त्यसैले यस्ता चूनौतिहरु जति आएपनि यसबाट हामीले डराउनु पर्दैन । सबै आरोह र अवरोधलाई पार गर्दै अगाडी बढ्नुपर्दछ ।’
श्रद्धाञ्जली सभामा वरिष्ठ पत्रकार बिएम खनाल, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, पुर्व केन्द्रिय सदस्य अजय कुमार मिश्रलगायतकाहरुले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै क्रियाशील पत्रकार महिला धनुषाले समेत स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको थियो ।
यसैबिच जनकपुरधाम उपमहानगरपालिकाले समेत शहीद पत्रकार उमा सिंहको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरेको छ । नगरप्रमुख लालकिशोर साहले गत वर्ष नै स्वर्गीय पत्रकार सिंहको नाममा अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका थिए ।
सिंहको स्मृति दिवसको अवसरमा उपमहानगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा मेयर साहले अक्षय कोष सञ्चालनका लागि बैंकमा रकम जम्मा गरिसकिएको जानकारी दिए । यस अक्षय कोषबाट उमा सिंहको नाममा उत्कृष्ट काम गर्ने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने उनले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खड्काले अक्षयकोषमा रकम जम्मा गर्न लेखाका कर्मचारीलाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
स्थानीय रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम–१४ रजौलस्थित डेरामा अपराधीहरुको एक समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
प्रतिक्रिया