ताजा समाचार


निर्वाचनको तयारीमा लाग्न उपसभापति निधिको आह्वान 

द रियल समाचार     २०७७ पुष २८, मंगलवार, ०१: ३३ मा प्रकाशित





जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको प्राथमिकता निर्वाचनको तयारी नै रहेको बताएका छन् ।

जनकपुरधामस्थित पार्टी कार्यलयमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर राष्ट्रिय निर्वाचनमा लाग्नु पहिलो प्राथमिकता बनाउनुपर्नेमा जोड दिए ।

उनले संसद पुर्नस्थापना भएपनि वा नभएपनि राष्ट्रिय निर्वाचनको तयारीमै अहिले लाग्नु उचित हुने बताए । उनले भने,‘म आफै पनि महाधिवेशनको तयारीमा लागेको थिएँ तर अहिले प्राथमिकता बदलिएको छ । पहिले पार्टीको महाधिवेशन प्राथमिकता थियो, अब प्रतिनिधिसभाको राष्ट्रिय निर्वाचन पहिलो प्राथमिकता हो ।’

उपसभापति निधिले अहिले चुनाव भयो भने चुनावमा भाग नलिने भन्नु अनुचित हुने बताउँदै भने ‘यसको अर्थ यो होइन कि संसद पुर्नस्थापना हुनु हुँदैन ।’ निर्वाचनका लागि अहिले सोच्नु नै नहुने भन्ने सोच राख्नु अव्यवहारिक, अवैज्ञानिक सोच रहेको निधिको भनाई थियो । अहिलेको उत्पन्न वर्तमान परस्थितिको समाधान भनेकै प्रतिनिधिसभा रहेको चर्चा गर्दै निधिले संसद पुर्नस्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दूबै विकल्पका लागि नेपाली कांग्रेस तयार हुनुपर्ने बताए ।

यस विषयमा पार्टी भित्रै सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल बिच झुठैको विवाद रहेको उनले बताए । उपसभापति निधिले भने,‘दूबै जना बेकारमा विवाद गरिरह्नु भएको छ, सभापति देउवा र बरिष्ठ नेता पौडेल दूबै आ–आफ्नो स्थानमा ठीकै हुनु हुन्छ । तर मेरो विचारमा संसद पुर्नस्थापना र निर्वाचन दूबै विकल्पलाई अंगिकार गरे अगाडी बढ्नुपर्छ ।’

सडकबाट प्रतिनिधिसभाको पुनस्थापना अहिलेको समयमा सुरक्षित नरहेको उनको भनाई थियो । सडकबाट आन्दोलन उग्र भयो भने न संसद पुर्नस्थापना हुने न निर्वाचन हुने सम्भावना समेत बन्न सक्छ, त्यसको भागी हामी हुनु हुँदैन नेता निधिले बताए ।

उनले अब हुने राष्ट्रिय निर्वाचनमा नेपाली कांग्रेसले अलोकतान्त्रिक शक्तिहरुलाई परास्त गरेर देखाउने दावी गरे । यसका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई तयारीमा लाग्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top