जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाई मत दिएर जनताले ठुलो भुल गरेको बताएका छन् ।
जनता समाजवादी पार्टीले सोमबार जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा तथा विरोधसभामा बोल्दै नेता महतोले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्धारा चुनिएको प्रतिनिधिसभालाई बिचमै हत्या गरेर देशलाई दुर्घटना तर्फ धकेलेको आरोप लगाए ।
उनले भने,‘प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथीको गम्भीर प्रहार हो । संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई ओलीले आफ्नो कुर्सी बचाउनका लागि अकालमा हत्या गरेका छन् । अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान छ तर, हाम्रो देशमा ७/७ वटा संविधान बनिसकेपनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट बञ्चित छन् ।’
नेता महतोले संविधानमा उल्लेख नै नरहेपनि ओलीले मनोमानी ढंगले संसद विघटन गरेको आरोप लगाउँदै ओलीतन्त्रको मतलव मनपरीतन्त्र रहेको दावी गरे ।
उनले भने,‘मधेशी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले संविधान निर्माण गरेपनि अहिलेसम्म मधेशी जनता अधिकार पाउनबाट बञ्चित छन् । जुन दिन मधेशी जनताको छाती माथि गोली चलाएर संविधान निर्माण गरियो देशमा त्यसैदिन प्रतिगमन भइसकेको थियो ।’
विरोधसभामा जसपाका नेता शरत् सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली जनताको दुश्मन रहेको आरोप लगाए । उनले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक वितण्डा मचाएको धारणा राखे ।
आफुहरु चुनावको पक्षमा नरहेको बताउँदै नेता भण्डारीले सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरि चुनावमा जाने निर्णय गरे त्यो देश र जनताका लागि नजिर बन्ने जिकिर गरे ।
कार्यक्रममा जसपा नेतृ रेणु कुमारी यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कानून विपरीत काम गरेकोले जनताको अदालतमा त्यसको लेखाजोखा गरिने बताईन् । उनले भनिन्,’संविधानमा देशको हरेक नागरिकको अधिकार सुनिश्चित नगरिएकोले यो संविधान अहिलेसम्म अधुरो छ । मधेशीको अधिकार सुनिश्चित गरिए मात्र यो संविधान पुरा हुन्छ ।’
त्यस्तै नेता वृषेश चन्द्र लालले काँग्रेस, नेकपा लगायतका दलहरुले मधेशको मुद्दालाई संशोधन गर्ने वचनबद्धता जनाए मात्र उनीहरुसँग आन्दोलनका लागि सहकार्य हुनसक्ने बताए । उनले भने,’मधेशी जनताको मागलाई सम्बोधन गरेर आएपछि मात्र काँग्रेस र नेकपासँग आन्दोलनका लागि सहकार्य हुनसक्छ । नभए मधेशमा जसपा एक्लै आन्दोलन गर्न तयार छ ।’
विरोधसभामा जसपाका नेता उमाकान्त झा, जितेन्द्र सोनललगायतकाहरुले समेत आ-आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया