जनकपुरधाम । जनकपुरधामस्थित कोभिड–१९ विशेष अस्पतालमा संक्रमितको उपचारमा खटेका करार सेवाका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै आज (सोमबार) प्रादेशिक अस्पतालको ओपिडीमा तालाबन्दी गरेका छन् ।
संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुलाई अहिलेसम्म तलबभत्ता नदिएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै आफूहरुले बाध्यताबस ओपिडी कक्षमा तालाबन्दी गरेको आन्दोलनरत चिकित्सक डा.प्रविण चौधरीले बताए ।
तलबभत्ता भुक्तानी नै नगरि आफूहरुलाई पुष ५ गतेदेखि अस्पताल प्रशासनले काममा आउन रोक लगाएको र बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकोले आन्दोलनमा उत्रेको उनीहरुले बताए । कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित १०२ जना करार सेवाका कर्मचारीहरु आन्दोलित छन् ।
प्रतिक्रिया