जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतको निर्णयलाई मान्दै संसद पुनस्र्थापना र निर्वाचन दुबैका लागि नेपाली काँग्रेस तयार रहेको बताएका छन् ।
आईतबार जनकपुरधाममा शहीद सत्यनारायण पाठकको शालिक अनावरण समारोहमा बोल्दै नेता निधिले नेपाली काँग्रेस संसद पुनस्र्थापना वा निर्वाचन दुबै विकल्पका लागि तयार रहेको बताए । उनले प्रतिनिधिसभा प्राप्त गर्न सर्वोच्च अदालतको फैसला वा निर्वाचन मात्रै विकल्प भएको दावी गरे ।
प्रतिनिधिसभा प्राप्त गर्न हामीसँग दुईटा विकल्प छन्, एउटा संसद पुनस्र्थापना अर्को निर्वाचन,’उनले भने,‘अदालतले संसद पुनस्र्थापना गर्ने निर्णय गर्यो भने हामी त्यो पनि मान्छौ नभए निर्वाचनको फैसला गर्यो भने हामी निर्वाचनमा जान समेत तयार हुनुपर्दछ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गर्दै सरकारले जनमतको अपमान गरेको दावी गरे । उनले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको समेत दावी गरे । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशमा ठुलो संकट निम्त्याएको जिकिर गर्दै नेता निधिले यसको समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘कम्युनिष्टहरु त्यसैपनि लोकतन्त्र विरोधी हुन्छन् । कम्युनिष्ट र लोकतन्त्र सँगसँगै चल्नै सक्दैन् । कम्युनिष्टहरु सदैव सर्वसत्तावादी, अधिनायकवादी, वर्चश्ववादी, संघियता र लोकतन्त्र विरोधी देखिए ।’
प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक रहेको दावी गर्दै नेता निधिले संसद पुनस्र्थापना र निर्वाचन दुबैका लागि नेपाली काँग्रेसको स्पष्ट धारणा रहेको बताए । उनले भने,‘हामी आफुलाई लोकतन्त्रवादी भन्छौं, त्यसैले हामी निर्वाचनबाट टाढा भाग्दैनौं । लोकतन्त्रवादीहरु निर्वाचनबाट कहिल्यै भाग्दैनन् ।’
प्रतिक्रिया