ताजा समाचार


बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

द रियल समाचार     २०७७ पुष २६, आईतवार, १२: ५२ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को बारा जिल्लामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । तस्कारको साथमा रहेको गाँजा नियन्त्रणमा लिन खोज्दा तस्करको समुहले प्रहरीमाथि गोली चलाएपछि प्रहरीको तर्फबाट समेत गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटेको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले शनिबार राति निजगढ नगरपालिका वडा नम्बर–१३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको डिएसपी मिश्रले जानकारी दिए ।

गाँजा तस्करहरुले प्रहरीमाथि गोली प्रहार गर्न थालेपछि प्रतिकार स्वरुप प्रहरीको टोलीले पनि ५ राउण्ड गोली फायर गरेको उनले बताए । दुबै तर्फबाट भएको गोली हानाहानको क्रममा कुनै मानवीय क्षति नभएपनि तस्करको समुहको एक जनालाई बन्दुकसहित पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ का ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । उनको साथबाट १ थान लोडेड भरुवा बन्दुकका साथै घटनास्थलबाट करिव १ सय किलो गाँजा समेत बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top