जनकपुरधाम । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले रक्तरंजित संविधानमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभाको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता महतोले वर्तमान संविधानमाथी प्रधानमन्त्री ओलीले अतिक्रमण गरेको आरोप लगाए । तत्कालिन एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी मिलेर मधेशी जनताको बलि दिएर तयार पारेको संविधानमाथी समेत आक्रमण गर्न प्रधानमन्त्री ओली पछाडी नपरेको महतोको भनाई थियो । उनले भने ‘रक्तरञ्जित संविधानलााई टेकेर बनेको जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी खतरामा रहेको देखेर अकाल मृत्युको घोषणा गरेका छन् ।’
प्रधानमन्त्री ओलीले देशमा धेरै विकास भएको दिदै आएको अभिव्यक्ति तर्फ इंगित गर्दै महतोले प्रधानमन्त्रीलाई जनताको अधिकार खोस्न, प्रतिगमन गर्नबाट फुर्सद भए पो देशमा विकास निर्माणका कार्यहरु हुन्छ बताए । उनले भने,‘ओलीजी रेल ल्याएको दावी गर्दै छन्, खोइ गुडेको, जनताको अधिकार खोस्नबाट फुर्सद भएपो रेल गुडाउन तर्फ ध्यान जान्छ ।’
अर्को प्रसंगमा बोल्दै नेता महतोले प्रदेश २ को स्थायी राजधानी बन्ने पहिलो अधिकार जनकपुरधामसंग रहेको बताए । उनले जनकपुरधाम प्रदेश २को मात्र नभई देशकै धार्मिक तथा सांस्कृति नगरी जनकपुरधाम रहेकोले राजधानी बन्ने पूर्ण सम्भावना जनकपुरधामसंग रहेको बताए । उनले भने ‘राजधानीको निक्र्यौल प्रदेशसभाले गर्नेछ, त्यसैले प्रदेशसभालाई आग्रह गर्न चाहन्छु छिटो भन्दा छिटो जनकपुरधामलाई प्रदेश २को स्थायी राजधानी बनाउन पहल होस ।’ उनले यसका लागि जनकपुरधामको उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकास तर्फ ध्यान दिनु आवश्यक रहेको बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, सुरिता साह, पूर्व मेयर बजरंग प्रसाद साहलगायतकाहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया