जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरूद्ध नेपाली कांग्रेसले आज धनुषाको आठवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रिय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ को (ख) मा केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङ्गाना, क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजा गोइत,२ को (ख) मा केन्द्रिय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभा सदस्य रामसरोज यादव, ३ को (ख) मा केन्द्रिय सदस्य मिनाक्षी झा एवं क्षेत्रिय सभापति कन्हैया लाल कर्ण र क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार बासुलाल महतो एवं ४ को (ख) मा केन्द्रिय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो ।
विभिन्न ठाउँमा आयोजित कोणसभाहरुमा नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरि अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गरेको आरोप लगाएका थिए । उनीहरूले प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको बताउँदै संसद विघटन देश र जनताको लागि घातक सिद्ध हुने दाबी गरेका थिए ।
प्रधानमन्त्री ओलीको यस कदमले संघीयता धरापमा परेको र यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने निश्चित रहेकोले नेपाली कांग्रेस त्यसविरुद्ध आन्दोलनमा उत्रेको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
साभार : द नेपालटप डटकम
प्रतिक्रिया