जनकपुरधाम । ठेलामा प्लाष्टिक हालेको फोहोरका बोराहरु । हातमा पानी खाएर फालिएको प्लाष्टिकका बोतल । अनि शरीरमा थोत्रो लुगा । त्यसमा पनि ठाउँ–ठाउँमा च्यातिएकै । हेर्दा मानसिक सन्तुलन गुमाएर घुमिरहेको अनुमान गर्न सकिन्छ । तर यर्थातमा भने उनीहरुको मानसिक सन्तुलन गुमेको छैन् ।
उनीहरु हुन्, जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका बालक राम भजन मुखिया, राम जिवन मुखिया, भुल्ला मुखिया र दिनेश साह । उनीहरुको घरको आर्थिक अवस्था कमजोर भएका कारण ठेला चलाएर प्लाष्टिक संकलन गर्न बाध्य छन् । उनीहरु सबैको उमेर करिव ७ देखि ८ बर्षसम्म छ । सबैजना विगत दुई वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकामा बस्दै आएका छन् । यस्तो कलिलै उमेरमा जनकपुरधाम आएका उनीहरुले कवाडीमै रात विताउँछन र खाना पनि उहीँ खान्छन । तर उनीहरुको दिन चाँही नगरको कुना काप्चामा बित्छ । दिनभरी प्लाष्टिक संकलन गर्छन र साँझमा कवाडीमा पुगेर विक्री गर्छन । ‘दिनभरको हिडाइले साँझ एकदमै थाकेको महसुस हुन्छ’,उनीहरुले भने,‘कवाडीमा समान बेच्ने वित्तिकै त्यहीँ सुतिहाल्छौं ।
आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मेका कारण उनीहरु एक कक्षासम्म पनि पढेका छैनन् । उनीहरु भन्छन,‘खान पुग्दैन, अनि कसरी पढ्न जानु ?’ उनीहरु सबैको घरमा आमाबुवा र भाईबहिनी छन् । उनीहरुले कमाएको रकमबाट बचाएर घर पनि चलाउँछन । उनीहरु मध्येका एक राम जिवन मुखियाले आफुहरु सबैजना गरीबीका कारण पढाई लेखाई सबै छाडेर ठेला चलाई कवाडा संकलन गरेर जिविकोपार्जन गर्दै आएको सुनाए । आफुहरुलाई हेर्नेवाला कोही नरहेको उनको दुःखेसो छ । उनीहरुको कहानी दुःखद छ । उनीहरु रातीमा मात्र घरमा हुन्छन । सूर्य उदाउनुअघि नै उनीहरु बजार पुगिसकेका हुन्छन । मानिसहरु सुतेकै हुँदा उनीहरु प्लाष्टिक संकलन गर्न सुरु गरिसकेका हुन्छन । फोहोर फाल्ने ठाउँमा जानु हुँदैन । विभिन्न खालका रोग लाग्छन् भन्ने कुरा उनीहरुलाई थाहा छ । तर फोहोर ठाउँमा जानुपर्ने बाध्यता रहेको उनीहरुले बताए । राम जिवन भन्छन,‘फोहोर फाल्ने ठाउँमा नगए प्लाष्टिक नै संकलन गर्न सक्दिन । अनी कसरी पैसा कमाइ हुन्छ ? फोहोर ठाउँमा जाने त बाध्यता छ ।’
राम भजन मुखिया,राम जिवन मुखिया,भुल्ला मुखिया र दिनेश साह मात्र होइनन् जनकपुरधाम उपमहानगरपालिकामा प्लाष्टिक संकलन गर्नेको संख्या दर्जनभन्दा बढी छ । यसरी प्लाष्टिक संकलन गर्नेहरुमा अधिकांश ७ देखि १५ बर्षका बालकहरु छन् । होटल, ईटा उद्योग, पसल, यातायातका सवारी साधन लगायतका ठाउँमा पनि बालश्रमिकको कमी छैन् ।
कतिपय बालबालिका इटा उद्योगमा भारी बोक्न बाध्य छन् । सवारी साधनमा काम गर्ने बालकहरु ज्यानै जोखिममा राखेर काम गर्छन् । होटलमा प्लेट, भाडा वर्तन सफा गर्ने बालबालिकाहरु त फोहोरसँगै खेल्न बाध्य हुन्छन । घरको आर्थिक अवस्था कमजोर रहेका कारण पढ्ने कलिला उमेरमै श्रम गर्न बालबालिकाहरु बाध्य बनेका छन् । श्रमिक बालबालिका मध्ये ९० प्रतिशत दलित छन् । छोराछोरी पढाउने इच्छा कतिपय अभिभावकको हुँदाहुँदै पनि आर्थिक अभावका कारण श्रम गर्न बाध्य बालबालिकाको संख्या बढिरहेको छ ।
प्रतिक्रिया