ताजा समाचार


सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

द रियल समाचार     २०७७ पुष २२, बुधबार, १८: ५१ मा प्रकाशित




जनकपुरधाम । सप्तरीमा नेपाली सेनाको गाडीले ठक्कर दिंदा बुधबार एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–१ रुपनी चोकमा सेनाको बा.१ ग १९८१ नम्बरको गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर–२ बस्ने ६५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय सप्तरीले जनाएको छ । नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको गाडीले चौधरी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने नेपाली सेनाको गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै, सर्लाहीमा भएको सवारी दुर्घटनामा परि एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । आफैंले चलाएको मोटरसाइकल बलरा नगरपालिका–४ स्थित गडहिया बलरा सडकखण्डमा पल्टिँदा रामनगर गाउँपालिका वडा नम्बर–२ बस्ने रामएकबाल राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवले चलाएको बीआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top