जनकपुरधाम । मानस तथा बोलबम परिवारले अध्यात्मिक यात्राका लागि नेपाल भारत सीमा खुल्ला गर्न माग गरेको छ । वैद्यनाथ धाम यात्रा गर्ने समय नजिकिएसँगै मानस तथा बोलमा परिवारले आध्यात्मिक यात्राका लागि सीमा खुल्ला गर्न माग गरेको हो ।
विभिन्न बोलबम समूहहरुलाई एकत्रित गरेर आयोजना गरिएको बैठकमा श्रद्धालुहरुले सीमा खोलाउन पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । बोलबम तिर्थ यात्रीहरु आगामी माघ २७ गते वैद्यनाथ धामका लागि यात्रा गर्नेछन् । मानस तथा बोलबम परिवारका अध्यक्ष ललन झाले यो आध्यात्मिक यात्रा वषौैदेखिको परम्परा रहेकोले सवारी साधनको पर्मिट उपलब्ध गराई दिन माग गरे ।
उनले भने,‘हामी प्रत्येक वर्ष माघ महिनामा वर्षोदेखि वैद्यनाथ धामको यात्रा गर्दै आएका छौँ, यो संकल्प टुट्नु भएन यसका लागि नेपाल सरकारले पहल गर्नु आवश्यक छ ।’ हामीहरुको माग पूरा नगरिए आन्दोलन समेत गर्ने उनले चेतावनी दिए । उनले भने,‘अध्यातिमक यात्रामा जाने सवारी साधनहरुको पर्मिटका लागि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने छौँ, नभए आन्दोलन गर्नेछौँ । हाम्रो माग पूरा नभए जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनेछौँ ।’
नेपालको मिथिलाञ्चल क्षेत्रबाट प्रत्येक वर्ष १ सय ५० भन्दा बढी बस वैद्यनाथधाम यात्राका लागि जाने गरेको माँ जानकी जनकपुरधाम यातायात प्रालीका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । उनका अनुसार यो यात्रा नभए यातायात व्यवसायीहरुलाई ३ करोडभन्दा बढी क्षति हुनेछ ।
प्रतिक्रिया