ताजा समाचार


निलम्बित महन्त दासले मन्दिरको नाममा रहेको करोडौंको जग्गा बिक्रि गर्दै

द रियल समाचार     २०७७ पुष २२, बुधबार, १७: ०२ मा प्रकाशित




जनकपुरधाम । गुठी अधिनस्त जग्गाहरू बिक्री वितरण गरी दुरुपयोग गरेको भन्दै निलम्बनमा परेका महोत्तरीको लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णवले फेरि जनकपुरधामस्थित मन्दिरको करोडौं मूल्य बराबरको जग्गा बिक्रि गर्न लागेको खुलेको छ ।

महन्त दासले लक्ष्मिनारायण मठको नाममा रहेको जनकपुरधामको जग्गा गुठी संस्थानसँगको मिलोमतोमा बेच्ने तरखरमा लागेको खुलेको हो ।
निलम्बित महन्त दासले मठिहानी मन्दिरको नाममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बजरंगचोकस्थित करिव ८ कठ्ठा जग्गा फेरि बिक्रि गर्न लागेको बताइएको छ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित कित्ता नम्बर ३२७ को ७ कठ्ठा ८ धुर १ कनमा र कित्ता नम्बर १५९ को ९ धुर २ कनमा जग्गा जगरनाथ दासले दिपु यादवलगायतलाई बेच्न थालेको स्रोतको दाबी छन् । स्रोतका अनुसार प्रतिधुर ७ लाखको दरले बिक्री हुन लागेको सो जग्गामा माटो पुर्ने काम समेत भइरहेको छ ।

दासले यसअघि पनि धनुषामा करिब ५ बिघा र रुपन्देहीमा २ बिघा जग्गा विभिन्न मितिमा बिक्री गरेको आरोप छ । २०५४ सालमा गुठी संस्थानबाट महन्त नियुक्त भएपछि वैष्णवले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको स्रोतको दाबी छ । महन्त दासले भैरहवा र धनुषामा लक्ष्मीनारायण मठ, रामजानकी मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब ७ बिघा जग्गा बिक्री गरेर हिनामिना गरेको आरोप लागेको हो ।
उनले यसअघि २०७६ बैशाख १६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका गल्लामन्डीस्थित रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा पनि बेचेका थिए ।

त्यस्तै, जनकपुरधामको पगलावाबा धर्मशाला नजिकको बहुमूल्य जग्गा समेत उनले बेचेको आरोप छ । चलनचल्तीको प्रति धुर १० लाख भन्दा बढी मूल्य रहेको ७ कट्ठा ५ धुर भन्दा बढी जग्गा कपाली तमसुकमा सहिछाप गरेर उनले खुलेआम बेचेका थिए । सार्वजनिक जग्गाहरु महन्त दासले नापी, मालपोत र गुठी संस्थानका कर्मचारीहरुको मिलोमतोमा २० बर्षमा २५ बिघा भन्दा बढी बहुमूल्य जग्गा बिक्री गरेको स्रोतको दाबी छ ।


लक्ष्मीनारायण मठको शाखा रहेको रुपन्देहीको भैरहवास्थित रामजानकी मन्दिरको ३ कठ्ठा ५ धुर जग्गा बिक्री गरेकोले गत २०७६ असार २२ गते गुठी संस्थान सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि महन्त दासलाई निलम्बन गरिएको थियो । कर्मचारीकै मिलोमतोमा मठमन्दिरका जग्गाहरु आफ्नो नाममा गराइसकेका महन्त दासले करोडौं मूल्य पर्ने सार्वजनिक सम्पत्तिको खुलेआम दुरुपयोग गरिरहेको आरोप लाग्दै आईरहेको छ ।

यस सम्बन्धमा महन्त दाससँग प्रतिक्रिया लिन खोज्दा उनले केहि बोल्न मानेनन् । कुनैपनि मठमन्दिरका महन्तको नाममा रहेको जग्गा सो व्यक्तिले बेच्न नपाउने कानुनी प्रावधान रहेको छ ।
साभार : द नेपालटप डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top