जनकपुरधाम ।
उपप्रधान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी बिरुद्ध खडा हुनेहरु स्वयं चकनाचुर भएर जाने दाबी गरेका छन् ।
नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज (मंगलबार) जनकपुरधाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री पोखरेलले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले पदलोलुप्ताका कारण पार्टी भित्र भाँडभैलो मचाएको आरोप लगाएका छन् । उनले औपचारिक रुपले नेकपा नफुटेपनि प्रचण्ड–नेपाल समूहको गतिविधिले फुटको संघारमा पुगेको बताएका छन् ।
उनले भने,‘प्रचण्ड–नेपाल समूहले हामीलाई दिएको धक्काबाट सिख सिकेर अब नयाँ ढंगले निर्वाचनमा गई जनलहर सिर्जना गर्नेछौं । जनता पनि विभाजनको पक्षमा कहिल्यै जाँदैनन् ।’ उनले एकताको तिन बर्ष नबित्दै पार्टीलाई कमजोर बनाउनका लागि पार्टी भित्रबाटै खेल सुरु गरिएकोले पार्टीलाई कमजोर बनाउनेहरुलाई कदापी सहन नसकिने जिकिर गरे । उनले भने,‘नेपाल कम्युनिष्ट पार्टीलाई म आफ्नो ज्यान भन्दा पनि बढि माया गर्छु । आफ्नो शरीरको रगतमा पनि कम्युनिष्ट छ । धनुषाबासीले नै आफ्नो रगतमा कम्युनिष्ट पार्टीको राजनीति सिकाएका छन् । त्यसैले कम्युनिष्ट माथिको आक्रमण कदापी सहन सक्दिन् ।’
प्रचण्डले एमालेसँग पार्टी एकता गरि चुनाव लडेपनि सरकार बनाउने समयमा अन्य पार्टीसँग गठबन्धन गरेको विगत कोट्याउँदै मन्त्री पोखरेलले त्यस समयमा पनि प्रचण्डले पार्टीलाई धोका दिएको आरोप लगाए । उनले त्यस समयमा पनि केपी ओलीले प्रचण्डलाई मिलाएर सरकार बनाएको स्मरण गरे । संसद विघटनको सम्बन्धमा नेता पोखरेलले भने,‘सरकार कुनै निर्णय गर्न चाहिरहेको बेलामा पछाडीबाट धक्का हानेर प्रचण्ड समूहले सरकारलाई काम गर्न नदिएपछि बाध्यतावस प्रधानमन्त्री ओलीले संसद विघटन गरे ।’ उनले भने,‘सरकारले निर्णय गर्ने समयमा प्रचण्डले विभिन्न झमेला गरिरहेका हुन्थे । प्रधानमन्त्री कार्यालय लगायत मन्त्रीहरुको कार्यालयमा आफ्नो मान्छेलाई नियुक्त गर्न पटक पटक दवाव दिन्थे, अनि सरकार कसरी चल्नु त ?’ पार्टी भित्रको झमेलालाई सहन नसकेर प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि जनतामाझ जान संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको उनले दाबी गरे । केपी ओलीसँग पराजित भएका माधव नेपाल फेरि ओलीसँग प्रतिस्पर्धा गर्न खोज्नु हास्यास्पद रहेको मन्त्री पोखरेलले बताए ।
कार्यक्रममा पार्टी स्थायी कमिटिका सदस्य एवं पूर्वमन्त्री रघुवीर महासेठले केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सक्कली पार्टी रहेको जिकिर गरे । उनले पार्टीको चुनाव चिन्ह ‘सूर्य’ आफुहरुकै रहेको दाबी समेत गरे । नेता महासेठले प्रधानमन्त्री ओलीले संसद विघटन गरि चुनावको मिति घोषणा गरेको कदम जनताको हितमा रहेको बताए । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई ढाल्नका लागि सुरुदेखि नै देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागेको बताउँदै उनले २०७८ को आगामी निर्वाचनमा पनि केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारी बहुमत ल्याउने दाबी गरे । नेता महासेठले पहाडी समुदाय बिनाको मधेश र मधेशी समुदाय बिनाको पहाड झैं देशमा केपी ओली नेतृत्वको नेकपा बिनाको सरकार कल्पना गर्न नसकिने दाबी समेत गरे ।
कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल जस्ता डेट एक्सपायर नेताहरुले पार्टी र देशलाई खाडलमा धकेल्न उद्धत रहेको आरोप लगाए । प्रचण्ड र नेपालले भ्रम र बार्गेनिङ्गको राजनीति गरिरहेका बताउँदै मन्त्री साहले उनीहरुले निहित स्वार्थका लागि पार्टी विघटन तर्फ लागेको दाबी गरे । उनले भने,‘संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम थियो । अब भने नेपाली जनताका लागि चुनाव बाहेक अर्को कुनै विकल्प छैन् । निर्धारित मितिमै निर्वाचन हुन्छ । त्यसैले हामीहरुलाई अब निर्वाचनको तयारीमा जुट्नुपर्दछ ।’
उनले नेपाली जनतालाई सत्यको पक्षमा उभिन आग्रह गरेका छन् । क्रान्तिको लक्ष्य पुरा गर्नका लागि सबैलाई सत्यको साथ दिनुपर्ने उनले बताए । प्रचण्ड र माधव कुमार नेपाललाई बहुरुपीयाको संज्ञा दिंदै उनले देशलाई खाड्लमा धकेल्नेहरु पनि उनीहरु नै रहेको आरोप लगाए ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले केहि नेताहरुको व्यक्तिगत स्वार्थका कारण अहिले पार्टी फुटको संघारमा पुगेको बताईन् । ओली नेतृत्वको नेकपा आधिकारिक रहेको दाबी गर्दै मन्त्री महतोले मुलधारको पार्टीमा लाग्न नेता कार्यकर्ताहरुसँग आग्रह गरिन् । काठमाण्डौको टुँडिखेलमा प्रचण्ड–माधव समूहले गालीगलौज गरेको स्मरण गर्दै मन्त्री महतोले उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मात्र नभई सम्पूर्ण महिलालाई गाली गरेको जिकिर समेत गरिन् ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य ज्वाला कुमारी साहलगायतका वक्ताहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।
साभार : द नेपालटप डट कम
प्रतिक्रिया