ताजा समाचार


दुई खेमामा विभाजित भएसँगै नेकपा भित्र गुट उपगुटको खेल सुरु

द रियल समाचार     २०७७ पुष २१, मंगलवार, १३: २७ मा प्रकाशित




जनकपुरधाम ।


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएसँगै पार्टी भित्र गुट उपगुटका खेलहरु सुरु भईसकेको छ । पार्टीको दुबै खेमा आ–आफ्नो रणनीति र तयारीका साथ राजनीतिक अभियानमा जुटेको देखिन्छ ।

अभियानकै क्रममा केहिदिन अघि दाहाल–नेपाल पक्षले जनकपुरधामस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेला आयोजना गरेको थियो । आज (मंगलबार) फेरि त्यहि पार्टी कार्यालयमा ओली पक्षकाहरुले समेत जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरिरहेको छ । नेकपा भित्र गुट उपगुटका खेलहरु सुरु भईसकेपछि दुबै समूहका नेताहरु आ–आफ्नो पक्षमा कार्यकर्तालाई तान्न लागिपरेको देखिएको छ । जनकपुरधाममा आज पनि दाहाल–नेपाल समूहले ओली समूहका नेता सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाउन संसदीय दलको बैठक बोलाएको छ भने ओली समूहले आफ्ना केन्द्रिय नेताहरुलाई बोलाएर कार्यकर्ता भेलाको आयोजना गरिरहेको छ ।

भेलामा सहभागी हुनका लागि उपप्रधानमन्त्री समेत रहेका पार्टीको स्थायी समिति सदस्य ईश्वर पोखरेल एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो जनकपुरधाम आएका छन् । त्यस्तै, दाहाल–नेपाल समूहले भने धनुषाका १८ मध्ये १७ स्थानीय तहमा आज पनि कार्यकर्ता भेला आयोजना गरिरहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा आज ओली समूहले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरिरहेकोले यहाँ दाहाल–नेपाल समूहले दुई दिनपछि भेला आयोजना गर्ने बताइएको छ ।
कार्यकर्ता कम, गाडीको लर्को बढी
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो मन्त्री बनेपश्चात आज (मंगलबार) पहिलो पटक आफ्नो गृह जिल्ला आएकी छन् । उनी जनकपुरधाम आउँदा जनकपुर विमानस्थलमा कार्यकर्ता भन्दा बढि गाडीको लर्को देखिएको थियो ।


गाउँगाउँबाट कार्यकर्ताहरुलाई स्वागतका लागि बोलाउँदा समेत कार्यकर्ताहरु भने न्युन संख्यामा मात्रै उपस्थित रहेको देखियो । जनकपुर विमानस्थलमा भने उनका केही समर्थकहरुले उनलाई १ सय १ किलोको माला लगाएका थिए ।

साभार : द नेपालटप डट कम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top