ताजा समाचार


प्रदेश २ : श्रम स्वीकृतिका लागि अनिवार्य गरिएपछि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

द रियल समाचार     २०७७ पुष २०, सोमबार, ११: ३६ मा प्रकाशित




ज्योति झा–

जनकपुरधाम ।

सरकारको महत्वकांक्षी योजनाको रुपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश २ मा बिस्तारै प्रभावकारी भईरहेको देखिएको छ ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति अनिवार्य गरिए झैं यस प्रदेशमा श्रम स्वीकृति गराउनका लागि स्वास्थ्य बीमा समेत अनिवार्य गरिएपछि यो कार्यक्रम प्रभावकारी भईरहेको स्वास्थ्य बीमा वोर्ड प्रदेश २ का संयोजक रमेन्द्र प्रसाद कुशवाहाले जानकारी दिएका छन् । प्रदेश २ मा अहिलेसम्ममा १ लाख ४ हजार ८ सय ७० जनाले स्वास्थ्य बीमा गराइसकेको उनले जानकारी दिए ।

उनले भने,‘अस्पतालहरुले बीमितहरुलाई निःशुल्क औषधी उपलब्ध गराईरहेपनि प्राथमिक स्वास्थ्य केन्द्रहरुले बदमासी गर्दा स्वास्थ्य बीमा गरेका बीमितहरु औषधी पाउनबाट वञ्चित छन् ।’ उनले प्राथिमिक स्वास्थ्य केन्द्रहरु बाहेक कुनैकुनै सरकारी अस्पतालहरुमा मात्र औषधीको समस्या रहेको बताए । २०७४ साल माघ २५ गतेदेखि महोत्तरीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रदेश २ का ६ वटा जिल्लामा विस्तार भइसकेको छ । रौतहटमा २०७४ चैत २२ गते, पर्सामा २०७५ जेठ ७ गते, धनुषामा २०७५ माघ २९ गते, सिरहामा २०७५ फाल्गुन २ गते र सप्तरीमा २०७७ असोज २५ गते सञ्चालनमा ल्याईएको स्वास्थ्य बीमा कार्यक्रम अब बिस्तारै प्रभावकारी बनिरहेको संयोजक कुशवाहाले बताए । बारा र सर्लाही जिल्लामा भने यस आर्थिक वर्ष भित्र स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्ने संयोजक कुशवाहाले बताए ।

उनले भने,‘प्रदेश २ का ४९ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थासंग सम्झौता गरेर सुचारु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अस्पताल र स्वास्थ्य संस्थाहरुले बिस्तारै प्रभावकारी बनाईरहेका छन् ।’ नीजि स्वास्थ्य संस्थातर्फ प्रदेश २ का आखां अस्पतालहरुले राम्रो सेवा दिदैं आएको बताउँदै कुशवाहाले आरएन केडिया आँखा अस्पताल पर्सा, गौर आँखा अस्पताल रौतहट, किरण आँखा अस्पताल पर्सा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, जानकी आँखा अस्पताल जनकपुरधाम, शुभ स्वस्तिक अस्पताल महोत्तरी, नेशनल मेडिकल कलेज पर्सा, सप्तऋषी अस्पताल सिरहा लगायतका निजी अस्पतालहरुले बीमितहरुलाई भरपर्दो सेवा प्रदान गरिरहेको कुशवाहाले जानकारी दिए ।

यता स्वास्थ्य बीमा कार्यक्रमप्रति प्राथमिक स्वास्थ्य केन्द्रहरुले खासै चासो नदेखाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने सुनिता देवीले दुःखेसो सुनाईन् । २०७२ चैत २५ गतेदेखि कैलालीबाट शुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म देशभरिका ६२ वटा जिल्लाहरुमा सुचारु रहेका छन् ।

यो बीमा कसरी गर्ने ?
जुन जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु छ, त्यस जिल्लाका सेवाप्रदायक संस्था, नेपाल सरकार मातहत र निजी अस्पतालहरुलाई यसमा सहभागी गराइन्छ । स्थानीय तहका हरेक वडामा एक जना दर्ता सहयोगी छनोट गरि उनलाई घरघरमै पठाईन्छ । उनले नै तथ्यांक संकलन गरेर बीमामा सर्वसाधारणलाई आवद्ध गराउने काम गर्छन् । दर्ता सहयोगीले संकलन गरेको तथ्यांकको आधारमा बीमा गरेपछि बीमित व्यक्तिलाई कार्ड वितरण गरिन्छ । बीमितले कार्ड पाईसकेपछि सेवा दिने काम सुरू गरिन्छ ।

सरकारले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क दर्तासँगै १ लाख बराबरको औषधी सेवा समेत निःशुल्क उपलब्ध गराउनुका साथै कुनै परिवारमा एचआइभि संक्रमित, कुष्ठरोगी, पूर्ण अपाङ्ग व्यक्ति भए परिवारका सबै सदस्यलाई निःशुल्क दर्ता गर्ने गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदान रकमममा ५० प्रतिशत छुटको सुविधा उपलब्ध रहेको छ ।

यद्यपी सरकारले सुरु गरेको स्वास्थ्य बीमाले दाँत भर्ने, दाँतमा तार हाल्ने, कस्मेटिक सर्जरी र इम्प्लान्ट, प्लास्टिक सर्जरी, महङ्गा चश्माको खरिद, कानमा लगाउने सुन्ने मेसिन, मादक पदार्थ सेवन गरेर कुटाकुट गरी घाइते भएका व्यक्तिलाई सेवा प्रदान नगर्ने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top