जनकपुरधाम । जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) को नयाँ कार्यसमिति अवैधानिक तवरले चयन गरिएको संस्थाका केही असन्तुष्ट सदस्यहरुले आरोप लगाएका छन् । हिजो (शनिबार) संस्थाको ४१ औं साधारणसभाको क्रममा नियम कानुनविपरित अध्यक्ष मण्डलद्वारा एकपक्षीय रुपमा संस्थाको विधान र धारा उपधारालाई समेत ख्याल नगरी नयाँ कार्यसमितिको चयन गरिएको आरोप लगाईएको छ ।
अध्यक्ष मण्डलले सर्वसम्मत कार्यसमिति चयन गर्न नसकेपछि नियम संगत चुनाव नगराई उल्टै दवाव र प्रभावमा परेर विभिन्न पदमा परेको उम्मेदवारी र विरोधलाई बेवास्ता गर्दै एकलौटी निर्णय सुनाएकोप्रति आफुहरुको गम्भीर आपत्ति रहेको सचिव पदका उम्मेदवार घनश्याम मिश्रले आरोप लगाए । उनले आफुहरुको उम्मदेवारी अझैपनि कायम नै रहेको जानकारी दिए । उनले भने,‘अध्यक्ष पदमा ३ जना, सचिवमा २ जना र कोषाध्यक्षमा १ जना मात्र उम्मेदवारी दिएको अवस्थामा सदस्यहरुको मताधिकारको हनन गर्दै सात सदस्यीय अध्यक्ष मण्डलका संयोजक रमेश रञ्जन झाले मौखिक रुपमा नयाँ कार्यसमितिको घोषणा गर्नु आफैमा हास्यास्पद र काुनन विपरित रहेको छ ।’
२१ औं शताब्दीमा पनि लोकतान्त्रिक मूल्यमान्यता विपरित गरिएको यस कार्य विरुद्ध आफुहरुको असहमति रहेको र ५ दिनभित्र विधानसम्मत निर्वाचन नगराइए काुननी उपचारमा जान बाध्य हुने अध्यक्ष पदका उम्मेदवार ललित कामले बताए । उनले भने,‘संस्थाको पदाधिकारी भएर पनि मिनापमै बसेर विभिन्न फरक नामका गैर सरकारी संस्था संचालन गर्ने व्यक्तिहरुको हालीमुहालीका कारण मिनाप र मिनापसँग आबद्ध कलाकारहरु अािर्थक रुपमा कमजोर हुँदै गइरहेको छ, साधारणसभामा समेत सदस्यहरुद्वारा मिनापको लेटर प्याडको दुरुपयोग भइरहेको आवाज उठिरहँदा त्यस्तै व्यक्तिहरुलाई नयाँ कार्यसमिकिो लिष्टमा राखेर गैरवैधानिक तवरले गरिएको मौखिक घोषणालाई हामी अस्वीकार गर्छौं ।’
यस विषयमा अध्यक्ष मण्डलले आफ्नो आधिकारीक धारणा बाहिर नल्याए आफुहरु कडा संघर्षको कार्यक्रममा जाने कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार रायले चेतावनी दिएका छन् ।
प्रतिक्रिया