ताजा समाचार


प्रदेश २ सरकार बजेट फ्रिज गर्नमा अगाडी रहेको मन्त्री साहको आरोप

द रियल समाचार     २०७७ पुष १९, आईतवार, १८: ३६ मा प्रकाशित




जनकपुरधाम ।


शहरी विकासमन्त्री प्रभु साहले राज्यका संरचनाहरुलाई एक्टिभ बनाउन आवश्यक भौतिक पूर्वाधारहरु सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

जनकपुरधाममा आज (आईतबार) संघिय सरकार अन्तर्गतका आयोजनाहरुको कार्यान्वयनमा देखिएको समस्या समाधानका बिषयमा सम्बन्धित सरोकारवालाहरुसँगको वृहत छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले देशका पुराना शहरहरुलाई समेत व्यवस्थित बनाउन आफु लागिपर्ने प्रतिबद्धता जनाए ।

उनले प्रदेश २ सरकारको सबै मन्त्रालयहरुले अधिकांश ठाउँहरुमा मन्दिर निर्माण, कम्पाउन्ड वाल निर्माण, पोखरी सौन्दर्र्यीकरण, सामूदायिक घर निर्माणलगायतका कामहरु गरिरहेकोप्रति दुःख समेत व्यक्त गरे । स्थानीय तहहरुमा पनि नगरस्तरीय र वडास्तरीय योजनाहरु समेत एकै किसिमको रहेको उनले बताए ।

उनले तिनवटै तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रको हिसाबले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘केन्द्रले गर्नुपर्ने काममा प्रदेश सरकारले र प्रदेश सरकारले गर्नुपर्ने काममा केन्द्र सरकारले हस्तक्षेप गर्नु हुँदैन् । स्थानीय तहहरुले समेत आ–आफ्नो ठाउँलाई मोडेलको रुपमा विकास गर्न सक्नुपर्दछ ।’ आफ्नो मन्त्रालयले गर्नैपर्ने कामहरुमा हमेशा जोड दिने उनले बताए ।
मन्त्री साहले जनकपुरधाम अब प्रदेशको राजधानी बन्ने निश्चित रहेकोले यहाँस्थित बसपार्क अब साँघुरो हुने बताउँदै बसपार्कको जग्गा सम्बन्धि विवादलाई सरोकारवालाले समाधान गरे शहरी विकास मन्त्रालयले यथाशीघ्र यस बसपार्कलाई निर्माण गर्न अग्रसरता देखाउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रदेश २ मा जनता आवास कार्यक्रम लथालिङ्ग अवस्थामा रहेको बताउँदै मन्त्री साहले यस प्रदेशमा यसको भौतिक प्रगति शून्य रहेको जिकिर गरे । उनले भने,‘गरीवको झोपडी निर्माण गर्नका लागि आएको बजेट पनि फ्रिज हुनु दुःखद छ । यस प्रदेशमा जनता आवास कार्यक्रमका लागि आएको बजेट पटक पटक फ्रिज भईरहनु लज्जास्पद कुरा हो । देशमा सबभन्दा बढि आवासविहिनको संख्या प्रदेश २ मा रहेपनि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले गरीवको लागि घर निर्माण नै नगरि बजेट फ्रिज गराउनु लज्जास्पद कुरा हो ।’
उनले प्रदेश २ सरकारले काम बढि गर्नुभन्दा पनि बजेट नै बढि फ्रिज गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनता आवसको लागि पैसा अपुग नहुने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंह, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ का सचिव रामआधार साह, महोत्तरीको मनरा सिस्वा नगरपालिकाका मेयर संजय कुमार सिंह, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरशल साहलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
साभार : द नेपालटप डट कम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top