जनकपुरधाम ।
शहरी विकासमन्त्री प्रभु साहले धनुषामा निर्माणाधिन अवस्थामा रहेको विभिन्न विकास निर्माणका आयोजनाहरुको निरीक्षण गरेका छन् ।
मन्त्री साहले जनकपुरधाम उपमहानगरपालिका–१३ मा निर्माणाधिन आयोजनाहरुको निरिक्षण गरेका हुन् । उनले आज (आईतबार) बिहान जनकपुरधाम उपमहानगरपालिका–१३ मा निर्माणाधिन अवस्थामा रहेको सीतापुर वाटिका मणिमण्डपमा पूर्वाधार एवं अन्य निर्माण कार्य लगायत जनकपुरको सडक तथा नाला निर्माण कार्य तथा दशरथ तलाउको निरिक्षण गरेका छन् ।
मन्त्री साहले सघन शहरी कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा सीतापुष्प वाटिका मणिमण्डपमा डिपिआर बमोजिमको पूर्वाधार एवं अन्य निर्माण कार्य तथा सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षणको निरीक्षण गरेका हुन् ।
निर्माणकार्यको निरिक्षण गर्दै मन्त्री साहले यहाँको पर्यटकीयस्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने सरकारको योजना रहेको बताए । अनुगमनका क्रममा मन्त्री साहले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधी प्रवृत्ति भएको बताए । यस वर्ष कोरोनाका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारेपनि अब कोरोनासँग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने उनले बताए ।
जनकपुरधाम–१३ स्थित सीतापुष्प वाटिका मणिमण्डपमा पूर्वाधार एवं अन्य निर्माण कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाईले रबिना कन्स्ट्रक्सन प्रालि काठमाण्डौसँग १८ करोड १५ लाख २२ हजार ७९३ रुपैयाँमा ठेक्का सम्झौता गरि निर्माण कार्य गराईरहेको छ । २२ करोड ७७ लाख ९९ हजार ५५३ रुपैयाँ लागत अनुमान रहेको यो आयोजना २०७८ सालको जेठ महिनामा निर्माण सम्पन्न गरिने बताईएको छ ।
यस आयोजना अन्तर्गत निर्माण हुने मुख्य संरचनाहरु जनकपुरधाम मिथिला क्षेत्रको पौराणिकता झल्किने दुई तल्ले राजा जनक दरवार भवन, २५ वटा कोठाहरु, वर–वधुको विश्रामका लागि २ वटा धर्मशाला, एउटा स्वयम्वर मण्डप सहित ३ वटा मण्डपहरु, दरवार भवनमा २१ व्टा शौचालय र ३० जना क्षमताको सुविधा सम्पन्न डबल हाइट पब्लिक कोर्ट रुमहरु रहेका छन् ।
त्यस्तै, सघन शहरी कार्यक्रम अन्तर्गत सडक निर्माण, हरियाली पार्क र पोखरी संरक्षण, जनकपुरधाम उपमहानगरपालिकाका मुख्य शहर पूर्वाधार योजनाका लागि जनकपुरधामस्थित शर्मा÷स्वच्छन्द÷जे.भी.सँग ८३ करोड ५१ लाखमा ठेक्का सम्झौता गरि १७ किलोमिटर सडक निर्माण कार्य भईरहेको छ । ८३ करोड ७३ लाख २८ हजार २७५ रुपैयाँ लागत अनुमान रहेको यो आयोजना २०७७ सालको पाल्गुन महिनामा निर्माण सम्पन्न गरिने बताईएको छ ।
साभार : द नेपालटप डट कम
प्रतिक्रिया