ताजा समाचार


नेकपा संसदीय दलका नेता मण्डललाई अविश्वास प्रस्ताव लगाएर हटाइने

द रियल समाचार     २०७७ पुष १७, शुक्रबार, १८: ४४ मा प्रकाशित




जनकपुरधाम, पुष १७ गते ।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपा पार्टी विवाद विभिन्न प्रदेशहरुमा देखिएको छ । जस अन्तर्गत एक अर्को पक्षका नेतालाई कारबाही, पदमुक्त गर्ने लगायतका कदमहरु समेत चालिदैंछ । सोही क्रममा प्रदेश २मा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलको नेता सत्य नारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रक्रिया अगाडी बढाइएको छ ।

मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाउने प्रक्रिया अगाडी बढाइएको दाहाल नेपाल समूहका नेताहरु बताउँछन् ।
दाहाल नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराई सकिएको प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिएका छन् । महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यहरु मध्ये १७ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । यद्यपि दाहाल नेपाल समूहमा २० जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको बताइएको छ ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए । प्रदेशसभा सदस्य सीता गुरुङ र फुलिया देवी सदाय सम्पर्कमै रहेको तर हस्ताक्षर उनीहरुले गर्न नसकेको महतोले बताए ।

संसदीय दलको नेतामाथी अविश्वास प्रस्ताव लगाउनका लागि एक चौथाई प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित दलको उपनेतालाई बुझाउनु पर्ने विधान अनुरुप उपनेतालाई २ दिन अगाडी नै अविश्वास प्रस्ताव दर्ता गराइएको उनले जानकारी दिए ।
मण्डललाई केही दिन अगाडी मात्रै नेकपा ओली समूहले प्रदेश २को इन्चार्जमा नियुक्त गरेको थियो ।

आन्दोलनका लागि १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन
प्रदेश २मा नेकपाको दाहाल नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडी बढाउनका लागि १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ । दाहाल नेपाल समूह प्रदेश २को सहइन्चार्ज विश्वनाथ साहको नेतृत्वमा प्रदेश संघर्ष समिति गठन गरिएको बताइएको छ ।


प्रदेशको अध्यक्ष, सचिव र इन्चार्ज ओली समूहमा प्रवेश गरि सकेका कारण सहइन्चार्ज विश्वनाथ साहको नेतृत्वमा प्रदेश संघर्ष समिति गठन गरिएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैर संवैधानिक कदम विरुद्ध आन्दोलनको पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु समाप्त भई सकेकोले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको सहइन्चार्ज साहले बताए ।

उनका अनुसार पुस १८ गतेदेखि पालिका पालिका तथा वडा वडामा संघर्षका कार्यक्रमहरु अगाडी बढाइने भएको छ । जिल्ला तथा स्थानीय तहले आफ्नो आवश्यक्ता अनुसार आन्दोलनका कार्यक्रमहरु तय गर्न सक्ने उनको भनाई थियो ।

अध्यक्ष, सचिव तथा इन्चार्जलाई केन्द्रबाटै कारबाही गरिने
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रदेश २का अध्यक्ष, इन्चार्ज र सचिव ओली समूहमा प्रवेश गरि सकेका छन् । यद्यपि दाहाल नेपाल समूहले अहिलेसम्म उनीहरुलाई कारबाही नगरेको सहइन्चार्ज साहले जानकारी दिए ।

उनले उनीहरु केन्द्रिय कमिटीमा रहेकाले प्रदेश कमिटी भन्दा पनि केन्द्रिय कमिटीले तीनै जनालाई कारबाही गर्ने बताए । पुस ७ गतेदेखि पुस ९ गतेसम्म पार्टीको केन्द्रिय कमिटीको बैठक बस्न लागेकाले उनीहरुलाई कारबाही गर्ने प्रकृया त्यहीबाट अगाडी बढाइने सह इन्चार्ज साहले बताए ।

नेकपाको दाहाल नेपाल समूहका अनुसार नेकपाको केन्द्रिय कमिटीको ६४ मध्ये ४५ केन्द्रिय कमिटी सदस्य, २ सय १४ प्रदेश कमिटी सदस्य मध्ये १ सय ३४ जना, १६ प्रतिनिधिसभा सदस्य मध्ये ११ जना र ४ जना राष्ट्रियसभा सदस्य मध्ये २ राष्ट्रिय सभा सदस्य दाहाल नेपाल समूहमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top