जनकपुरधाम, पुष १७ गते ।
धनुषामा आर्थिक लेनदेनको विवादमा ५ वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमात रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
जिल्लाको विदेह नगरपालिका वडा नम्बर–२ बस्ने जिवन राय अमातको ५ वर्षीय छोरा अभिनन्दन राय अमातको हत्यामा संलग्न सोही ठाउँ बस्ने प्रमिलालाई पक्राउ गरिएको हो ।
हिजो (बिहीबार) दिउँसो २ बजेदेखि आफ्नो घरबाट अभिनन्दन अचानक सम्पर्कविहीन भएपछि प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा बालकको शव साँझ साढे ७ बजे फेला परेको थियो । प्रहरी उपरिक्षक वस्नेतले दिएको जानकारी अनुसार प्रमिलाले लेनदेनको विवादलाई रिसिवी बनाई सो बालकको हत्या गरेकी हुन् । अभिनन्दन आफ्नै घर नजिक खेलिरहेको अवस्थामा चाउचाउको प्रलोभन दिएको र पछि निद्रा लागेपछि आफ्नै घर लगेर बच्चालाई सुताएको प्रहरीको अनुसन्धानबाट खुलेको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बच्चा सुतेपछि प्रमिलाले घाँटी थिचेर हत्या गरेको देखिएको छ । बच्चालाई हत्या गरेर प्रमिलाले आफ्नै बुवाको भैँसी बाँध्ने गोठमा शव गाडेकी थिइन् ।
बालक अभिनन्दनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हिजो नै पाँच जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया