ताजा समाचार


जनकपुरबाट नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने चारजनाको गिरोह पक्राउ

द रियल समाचार     २०७७ पुष १७, शुक्रबार, १८: ०१ मा प्रकाशित





जनकपुरधाम :  धनुषामा अपराधिक क्रियाकलापमा संलग्न रहेको चार जनाको गिरोह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले आज (शुक्रबार) सिआइबि लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाएको आरोपमा चार जनालाई पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ स्थित सञ्चालनमा रहेको सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा हिजो (बिहीबार) अपराधिक गिरोह समुहका मानिसहरुले सरकारी कागज दस्तखत छाप किर्ते गरि नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्रहरीलाई प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले खानतलासी गर्दा सो होटलको कोठा नम्बर १०६ बाट भारत बिहार राज्य जिल्ला अररीया फार्बिसगंज घर भई हाल मोरङ्गको विराटनगर उपमहानगरपालिका वडा नं. ४ का २७ वर्षीय समिन साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार वस्नेतले जानकारी दिए । पक्राउ परेका साहको ब्यानको आधारमा पछि थप तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

उनले भने, ‘सूचनाको आधारमा हामी होटलमा छापा मार्दा समिर साह शंकास्पद रुपमा भेटेका थिए । उनी बसेको कोठामा खानतलासी गर्दा कोठा भित्र रहेको टेबलमाथि राखिएको सुटकेश ब्यागमा नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरोबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र, परिचयपत्र लगायतका विभिन्न कार्यालयहरुको छाप फेला परेको छ ।’


पक्राउ पर्नेहरुमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका वडा नम्बर–१ बस्ने राजकुमार साहुको २७ वर्षीय छोरा समिर साह, महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–९ बस्ने दिनेश यादवको २१ वर्षीय छोरा आदित्य कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने बैजनाथ साहको ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ बस्ने सुट्टा साहको ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाण पत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुको खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरिएको थियो ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी उपरिक्षक वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top