ताजा समाचार


जलेश्वरनाथ महादेव मन्दिरको समग्र विकासको माग गर्दै युवाहरुले थाले रिले अनसन

द रियल समाचार     २०७७ पुष १५, बुधबार, १८: ४९ मा प्रकाशित




ज्योति झा–

जनकपुरधाम, पुष १५ गते ।


महोत्तरीको सदरमुकाम जलेश्वरस्थित ऐतिहासिक महत्वको जलेश्वरनाथ महादेव मन्दिरको समग्र विकासको माग गर्दै स्थानीय युवाहरु रिले अनसन थालेका छन् ।
जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा तथा संरक्षण संस्था विकास परिषदको आयोजना एवं जय बाबा जलेश्वरनाथ युवा क्लब, पासवान युवा क्लब र बखरी युवा क्लबको संयोजनमा विभिन्न ६ सुत्रिय माग सहित रिले अनसन सुरु गरिएको हो ।
महोत्तरी जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको जलेश्वरनाथ महादेव मन्दिर अहिले तिनवटै तहको सरकारको गैरजिम्मेवारीपनका कारण ओझेलमा परेको भन्दै आफुहरुले रिले अनसन सुरु गरेको बखरी युवा क्लबका अध्यक्ष सरोज कुमारले बताए ।
जलेश्वरनाथ महादेवकै नामले जलेश्वर परिचित रहेपनि मन्दिरको जिर्णोद्धार तर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान नगएको र आफुहरुले स्थानीय सरकारसँग पनि पटक–पटक मन्दिरको विकासका लागि पहल गरिदिन आग्रह गरेपनि उनीहरुको समेत ध्यान जान नसकेपछि युवाहरु रिले अनसन सुरु गरेको उनले बताए ।
मन्दिर जिर्णोद्धारका लागि आफुहरुले विगत डेढ वर्षदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका थियौं’, उनले भने,‘अहिलेसम्म कुनै छाँटकाँट देखिएन, त्यसैले राज्यको ध्यानाकर्षण गर्नका लागि हामीले रिले अनसन थालेका हौँ ।’


मन्दिरको नाममा विगतमा २७५ विग्हा जग्गा रहेको र ति जग्गाहरुको ताम्रपत्र समेत उपलब्ध रहेकोले सो जग्गाहरुको खोजविन गरि संरक्षण गर्न मन्दिर संरक्षण समितिका अध्यक्ष अमरदिप साहले माग गरे । उनले भने,‘वर्तमान समयमा मन्दिरको नाममा ४ वटा पोखरीहरु मात्र छन् । तर त्यस पोखरीहरुको ठेक्कापट्टाबाट आउने आम्दानी समेत जलेश्वर नगरपालिकाले नै खर्च गर्ने गरेको छ । मन्दिरमा नगरपालिकाको कुनै लगानी छैन् । तर, मन्दिरलाई आम्दानी हुनुपर्ने रकम नगरपालिकाले सदुपयोग गरिरहेको छ । यो कार्य हामीलाई सह्य छैन् ।’
सम्बन्धित सरोकारवाला निकायले पुष २३ गतेसम्म आफुहरुको मागउपर सुनुवाइ नगरे २४ गतेदेखि आमरण अनसनमा बस्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
यस सम्बन्धमा जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले जलेश्वरनाथ मन्दिरको विकास नभएसम्म जलेश्वर नगरपालिकाको विकास सम्भव नरहेकोले आफुहरु मन्दिरको विकासका लागि हरसम्भव प्रयासरत रहेको बताए । उनले मन्दिरको जग्गाहरु विभिन्न कालखण्डमा मासिएको स्वीकार गर्दै यसको अभिलेख भने नगरपालिकासँग उपलब्ध नरहेको बताए ।


जलेश्वरनाथ महादेव मन्दिरको विकासको क्रममा नगरपालिकाले काम गरिरहेको बताउँदै मेयर मिश्रले डिपिआर तयार गरेर सम्बन्धि मन्त्रालयमा बुझाईसकिएको जानकारी दिए । उनले भने,‘मन्दिरमा विकासको काम नै नभएको कुरालाई त स्वीकार्न सकिदैन तर,जुन हिसाबले हुनुपर्ने हो त्यो हुन सकेको छैन् ।’
मेयर मिश्रले मन्दिरको विकासका लागि यस वर्ष शहरी विकास मन्त्रालयमा करिव ३ करोड बराबरको डिपिआर तयार गरेर बुझाइएको जानकारी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top