ताजा समाचार


दाहाल–नेपाल समूहद्धारा प्रदेश २ को आठवटै जिल्लामा विरोध प्रदर्शन

द रियल समाचार     २०७७ पुष १४, मंगलवार, १८: ०४ मा प्रकाशित




जनकपुरधाम। संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले प्रदेश २ को आठवटै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
दाहाल–नेपाल समूहद्धारा आज (मंगलबार) देशभर विरोध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रदेश २ का सबै जिल्लाहरुमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्व नारावाजी गर्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’, पार्टी एकता कायम राख, प्रतिगामी कदम खारेज गर, लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावादलगायतका नाराहरु लगाएका थिए । विरोधसभामा पूर्वमन्त्री रामचन्द्र झा, यदुवंश झा, स्थायी कमिटी सदस्य गणेश साह, केन्द्रिय सदस्य श्रीप्रसाद साह, श्रवण वरवरिया यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको उपहास गरेको उनीहरुले आरोप लगाएका थिए ।

ओलीले संविधानलाई संकटमा पारेको आरोप
जनकपुरधामस्थित विद्यापति चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका केन्द्रिय सदस्य यदुवंश झाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता विरोधी र संविधान विरोधी हर्कत गरेका कारण देशमा अन्योलको अवस्था सिर्जना भएको आरोप लगाए । त्यस्तै जनकचोकमा आयोजित सभालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य गणेश साहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर गलत काम गरेको आरोप लगाए । नेता साहले श्रमजीवी वर्गले यस कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले राजा महेन्द्रले कू गर्दा जनकुपुरवासीले बम पड्काएर जवाफ दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई पनि जवाफ दिनुपर्ने चेतावनी दिए ।

राम चोकको सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य श्रीप्रसाद साहले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । उनले ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने बताए । रेल्वे स्टेशनमा भएको कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री रामचन्द्र झाले संविधानको रक्षा गर्नेले नै संविधानको खिल्ली उडाएको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले देशमा विभिन्न संघर्स पछि कम्युनिष्टले ल्याएको लोकतन्त्रलाई समाप्त पार्ने षडयन्त्रमा लागेको आरोप समेत लगाए । ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आफुहरु निरन्तर प्रदर्शनमा रहने उनको धारणा थियो ।

आठवटै जिल्लामा प्रदर्शन
दाहाल–नेपाल समूहले आयोजना गरेको विरोध प्रदर्शनको नेतृत्व सप्तरीमा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, सिरहामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, धनुषामा स्थायी समिति सदस्य गणेश साह, केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा, पूर्वमन्त्री यदुवंश झा, महोत्तरीमा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राजु खड्का, सर्लाहीमा पूर्वमन्त्री रामेश्वर राय यादव, रौतहटमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादव, बारामा केन्द्रिय सदस्य कमल न्यौपाने र पर्सामा केन्द्रिय सदस्य उर्मिला अर्याल तथा प्रदेश २ इन्चार्ज नागेन्द्र चौधरी सहितका नेताहरुले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top