काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएसँगै उत्तरी छिमेकी चीनको चासोसँगै सक्रियता बढेको छ ।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को उच्चस्तरीय टोली नेपाल आएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गो इजोउ नेतृत्वको एक टोली नेपाल आएको हो । टोली नेपालमा विकसित कम्युनिस्ट पार्टीभित्रको अवस्थाबारे बुझ्नको लागि नेपाल आएको स्रोतको दावी छ ।
नेपाल आएको सो टोलीले नेकपाका नेताहरुलाई भेट्ने बताइए पनि क–कसलाई भेट्नेछ भन्ने कुरा खुल्न बाँकी रहेको बताइएको छ । चीनले नेकपाभित्र विवाद देखिँदा विगतदेखि नै मिलाउन प्रयास गर्दै आएका थियो ।
यसअघि नेकपामा विवाद मिल्दा चिनियाँ राजदूतको सक्रिय बढ्ने गरेको थियो भने यसपटक चीनको खासै चासो त देखिँदैनथ्यो तर विभाजन नै भइसकेपछि राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनको सक्रियता मिल्नका लागि दवाव दिन हो या अन्य कारण छ त्यसबारे नेताहरुले बोलेका छैनन् ।
उनले केही दिनभित्रै पूर्वसभामुख कृष्ण बहादुर महरा, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललगायतसँग भेटेकी छिन् । राजनीतिक वृत्तमा चीनको सक्रियतालाई शंकाको दृष्टिले हेरिँदै आएकोमा यो पटक फेरि बेइजिङबाटै उच्च अधिकारीहरु आउनुलाई थप चासोका साथ हेरिएको छ ।
नेकपाभित्र विवाद बढ्दै गर्दा अर्को छिमेकी भारतले पनि नेपालको विकसित राजनीतिक घटनाक्रम आफ्नो ‘नोट’मा रहेको बताएको छ ।
प्रतिक्रिया