काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ओलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? भनेर प्रश्न गरेका छन् ।
शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा भनेका हुन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न समेत चेतावनी दिएका छन् ।
‘संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीजीले संसद विघटन गर्नुभयो,’ उनले भने–‘संसद पुनर्स्थापना हुनुपर्छ ।’
‘अब ओलीलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ ?’ उनले प्रश्न गरे ।
‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्ट नगर्नुहोला । खबरदार, तपाई यो बाटोमा हिड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जाने बाला छैन । नेपाली जनताले यो यात्रालाई रोकेर बीचमै रोकिछोड्छन्,’ उनले भने–‘कसैको अनुहार हेरेर होइन, संविधान र कानून हेरेर निर्णय गर्नुस् । तपाईहरु पनि त्यसबाट अछुतो रहनुहुने छैन ।’
संघीय संसद्को यसअघिको अधिवशेन असार १८ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अचानक अन्त्य गरेकी थिइन् ।
त्यसपछि नेकपा दुइ समूहमा विभाजन भएको छ ।
प्रतिक्रिया